गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो, बुढीगण्डकी थुनिने जोखिम तत्काल छैन

गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो, बुढीगण्डकी थुनिने जोखिम तत्काल छैन

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो गएको छ ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बस्ती नभएको क्षेत्रमा पहिरो खसेकाले मानवीय तथा भौतिक क्षति भएको छैन ।

पहिरोले तल रहेको बुढीगण्डकी नदीसम्म नपुगेकाले तत्काल नदी थुनिने अवस्था नरहेको उनले बताए । यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै घटनास्थलको अवस्थाबारे निगरानी भइरहेको उनले जानकारी दिए ।

स्थानीयका अनुसार शनिबार बिहान करिब ९ बजे पहिरो खसेको हो ।

राजकुमार भट्टले सामाजिक सञ्जालमा पहिरोको भिडियो सार्वजनिक गर्दै गोरखाको यारुबगरस्थित क्यान्टिलिभर पुलमाथिबाट ठूलो पहिरो गएको उल्लेख गरेका छन् । उनले मनास्लु पदयात्रामा रहेका पर्यटकलाई सतर्क र सुरक्षित रहन आग्रहसमेत गरेका छन् ।