

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सुरु भएको छ । शनिबार रातिसम्म देशमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेकोमा आइतबार बिहानदेखि न्यूनचापीय प्रणालीको प्रभाव देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमी वायुकै कारण विकसित हुने पानी तथा हिमपात गराउने मौसमी प्रणाली हो ।
महाशाखाले आइतबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनअनुसार हाल कोसी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ ।
त्यस्तै, तराई, उपत्यका तथा खोँचका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।