

काठमाडौँ । यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका अवसरमा आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी गोवर्द्धन पूजा मनाइँदै छ। वर्षभरि कृषि कर्ममा सहयोग पुर्याउने गोरु तथा किसानलाई सम्मान गर्दै मीठा परिकार खुवाउने परम्परासमेत यस पर्वको विशेषता हो।
गोवर्द्धन पूजाका अवसरमा घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाएर त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने चलन छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको स्मरणमा यो पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।
कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका बेला गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।
बली, हलि र गोरुको पूजा
गोवर्द्धन पूजाका दिन बली राजाको पनि पूजा आराधना गरिन्छ। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएका थिए। यही मान्यताका आधारमा तिहारमा देउसी खेल्नेहरूले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा सुरु भएको मानिन्छ।
वर्षभरि खेतबारी जोतेर मानव जीवन र कृषि कर्ममा सहयोग पुर्याउने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने गरिन्छ। गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने धार्मिक परम्परा छ।
यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा कृषि कर्ममा संलग्न किसानलाई पनि आज सम्मानपूर्वक पूजा गरी मीठा परिकार खुवाउने चलन छ। कृषि कार्यमा किसान र गोरुले पुर्याएको योगदानको सम्मानस्वरूप मनाइने भएकाले यस दिनलाई हलि तिहारसमेत भनिन्छ।
गोवर्द्धन पूजा प्रकृति, पशु र कृषि कर्मप्रति सम्मान प्रकट गर्ने पर्वका रूपमा पनि लिइन्छ।