पृथ्वी राजमार्गमा फेरि सुक्खा पहिरो, घोप्टेभिरमा सडक पूर्ण अवरुद्ध

पृथ्वी राजमार्गमा फेरि सुक्खा पहिरो, घोप्टेभिरमा सडक पूर्ण अवरुद्ध

काठमाडौं । सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग आज पनि अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर नजिकै सोमबार बिहानपख पहिरो खस्दा सडकको दुवैतर्फको आवागमन पूर्ण रूपमा बन्द भएको हो।

नागढुंगा–मुग्लिङ सडक आयोजनाका अनुसार पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन तथा आवश्यक उपकरण परिचालन गरिएको छ। नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रले पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको बताए।

‘पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिनसहितको उपकरण परिचालन भइसकेको छ,’ उनले भने।

आइतबार बिहान पनि सोही सडकखण्डमा पहिरो खस्दा दिनभर सडक अवरुद्ध भएको थियो। लगातार पहिरो खस्दा पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रु तथा सवारी चालकले सास्ती भोग्नुपरेको छ।

चाडपर्वको समयमा सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्न हिँडेका यात्रु थप मर्कामा परेका छन्।