

काठमाडौं । जलवायु परिवर्तनको मुद्दामा विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि परेका छन् ।
प्रख्यात टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी प्रभावशाली व्यक्तिको सूचीमा डा. वाग्लेलाई समावेश गरेको हो ।
टाइमका अनुसार दिगो आर्थिक विकासका क्षेत्रमा विगत २८ वर्षदेखि अध्येता, नीतिनिर्माता र निर्वाचित राजनीतिज्ञका रूपमा सक्रिय वाग्लेले भोटेकोसी बाढीपछि गरेका तीन प्रमुख कार्यलाई छनोटको आधार बनाइएको छ ।
सूचीमा समावेश गर्नुको पहिलो आधार जलवायु न्यायका लागि विश्वका विभिन्न मञ्चमा उनले गरेको पैरवीलाई मानिएको छ । दोस्रोमा जलवायु वित्तका लागि पहल तथा स्रोत व्यवस्थापनमा उनले खेलेको भूमिकालाई उल्लेख गरिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका विषयमा वाग्लेले राखेका विचारलाई पनि टाइमले छनोटको आधार बनाएको छ ।
टाइमको यस वर्षको जलवायु परिवर्तनसम्बन्धी सय प्रभावशाली व्यक्तिको सूचीमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत विश्वका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरू समावेश छन् ।