

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न जाने भक्तजनको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। दैनिक हजारौँको सङ्ख्यामा तीर्थालु पुग्न थालेपछि कठिन पैदलयात्राको विकल्पका रूपमा प्रस्तावित पाथीभरा केबलकार निर्माण शीघ्र सम्पन्न गर्न दर्शनार्थीहरूले माग गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार दसैँयता दैनिक १० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर दर्शन गरिरहेका छन्। नेपालका विभिन्न जिल्ला मात्र नभई छिमेकी भारतबाट समेत ठूलो सङ्ख्यामा तीर्थालु पाथीभरा पुग्ने गरेका छन्। गत मङ्गलबार यस वर्षकै सबैभन्दा बढी करिब ११ हजार दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका थिए।
लामो यात्रा तय गरेर ताप्लेजुङ पुग्ने तीर्थालुले तल्लो फेदीबाट पैदल उकालो यात्रा सुरु गरी ठूलो फेदी हुँदै मन्दिरसम्म पुग्नुपर्ने हुन्छ। कठिन र लामो पदयात्राका कारण विशेषगरी वृद्धवृद्धा, अशक्त व्यक्ति, बालबालिका तथा शारीरिक रूपमा कमजोर तीर्थालुले सास्ती खेप्नुपरेको उनीहरूको भनाइ छ।
पाथीभरा दर्शनका लागि पुगेका अधिकांश तीर्थालुले केबलकार निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका छन्। केबलकार सञ्चालनमा आएमा सबै उमेर समूह र शारीरिक अवस्था भएका व्यक्तिलाई सहज रूपमा देवीको दर्शन गर्ने अवसर मिल्ने उनीहरूको अपेक्षा छ।
तीर्थालुका अनुसार केबलकार निर्माणले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै भक्तजनको सङ्ख्या बढाउन र ताप्लेजुङको आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
पाथीभरा देवी दर्शन प्रालिले अघि बढाएको केबलकार परियोजनाको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ। तर तत्कालीन स्थानीय प्रशासनको मौखिक आदेशपछि निर्माण कार्य रोकिएको छ। रोकिएको आयोजना पुनः कहिले सञ्चालनमा आउने भन्नेबारे आयोजनाले स्पष्ट जानकारी दिएको छैन।
तीर्थालु तथा स्थानीयवासीले केबलकार निर्माणसँगै पाथीभरा क्षेत्रका अन्य पूर्वाधार र सुविधामा समेत सुधार गर्न सरकार, स्थानीय प्रशासन र आयोजना पक्षसँग आग्रह गरेका छन्। पाथीभरा देवीको दर्शनका अतिरिक्त कञ्चनजङ्घा हिमशृङ्खलाको मनोरम दृश्य र प्राकृतिक सौन्दर्य अवलोकन गर्न पनि ठूलो सङ्ख्यामा पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्।
स्थानीय व्यवसायीहरूका अनुसार पाथीभरा क्षेत्रसम्म पुग्ने यातायात, पदमार्ग, केबलकार तथा अन्य पर्यटकीय पूर्वाधारको विकास गर्न सके यो क्षेत्र देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ। यसले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेशको पर्यटन, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उनीहरूको विश्वास छ।