यू-१९ महिला क्रिकेटमा नेपालको ऐतिहासिक सफलता, अपराजित रहँदै जित्यो बेल्ट एन्ड रोड सिरिजको उपाधि

यू-१९ महिला क्रिकेटमा नेपालको ऐतिहासिक सफलता, अपराजित रहँदै जित्यो बेल्ट एन्ड रोड सिरिजको उपाधि

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। आइतबार हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो।

प्रतियोगितामा नेपालले खेलेका ६ खेलमध्ये चारमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण नतिजाविहीन बने। यससँगै नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। दोस्रो खेलमा आयोजक चीनसँग प्रतिस्पर्धा गर्दा वर्षाले खेल प्रभावित भएपछि नतिजा आउन सकेन।

तेस्रो खेलमा नेपालले हङकङमाथि ९२ रनको फराकिलो जित निकाल्यो। त्यसपछि चौथो खेलमा थाइल्यान्डलाई पुनः ५२ रनले पराजित गर्दै आफ्नो दबदबा कायम राख्यो। पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराएपछि नेपालको उपाधि सम्भावना थप बलियो बनेको थियो।

अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण खेल रोकिनुअघि ११ ओभरमा दुई विकेट गुमाएर ८८ रन बनाएको थियो। प्रतिकूल मौसमका कारण खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले अंक बाँडे र नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो।

प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्यान्डको सहभागिता रहेको थियो। चार टोलीबीच भएको प्रतिस्पर्धामा नेपाली युवा महिला क्रिकेटरहरूले देखाएको निरन्तर उत्कृष्ट प्रदर्शनले नेपालको उमेर समूहको महिला क्रिकेटमा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ।