‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, माघ २८ देखि प्रदर्शनमा आउने

‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, माघ २८ देखि प्रदर्शनमा आउने

काठमाडौं । हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। समीरको निर्देशनमा बनेको चलचित्र आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई फलामे बारभित्र कैद भएको अवस्थामा देखाइएको छ। पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन्। उनीहरूको अनुहारमा देखिने फरक–फरक हाउभाउ र भावभङ्गीले चलचित्र हास्यव्यङ्ग्यात्मक विषयवस्तुमा आधारित रहेको सङ्केत गर्छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन्।

आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्र मनोरञ्जनात्मक र सामाजिक विषयवस्तुमा आधारित छ। समकालीन समाजका विभिन्न रमाइला तथा ठट्यौला पक्षलाई रोचक शैलीमा प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई मनोरञ्जन दिनुका साथै सामाजिक परिवेशसँग पनि जोड्ने निर्माण पक्षको अपेक्षा छ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित हास्य कलाकार सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गरेका छन्। चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्रको छायाङ्कन विशाल कक्षपतिले गरेका छन् भने सङ्गीत अभिषेक कार्कीको रहेको छ। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन्। सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन् भने पोस्टर तथा प्रचारप्रसार डिजाइनको जिम्मेवारी ट्राइडेन्ट कन्सेप्टले सम्हालेको छ।

चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रविन) हुन् भने आभास अधिकारी कार्यकारी निर्माता रहेका छन्। भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा रहेका छन्।