सरयु-कमला एक्सप्रेस रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, जनकपुरबाट अयोध्यासम्मको भाडा ५८४ रुपैयाँदेखि
जनकपुरधाम-अयोध्या यात्राका लागि ४०० जनाले लिए टिकट, ६०४ किलोमिटर दूरी तय गर्ने
जनकपुरधाम । जनकपुरधाम र अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै तीर्थयात्रा सहज बनाउने उद्देश्यले सुरु गरिएको सरयु-कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।
उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट शनिबार बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्यासम्म यात्रा गर्न ४०० जनाले टिकट लिएका छन् । टिकट लिएका यात्रुलाई लिएर रेल जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको उनले बताए ।
रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै यात्रुलाई टिकट प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ । अनलाइनमार्फत टिकट लिन चाहनेले भारतको टिकट प्रणालीबाट बुकिङ गर्न सक्नेछन् । नेपालबाटै टिकट लिन चाहनेका लागि भने जनकपुरधाम रेल्वे स्टेसनमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको पराजुलीले बताए ।
उनका अनुसार जनकपुरधामबाट अयोध्यासम्मको यात्राका लागि स्लीपर श्रेणीको भाडा ५८४ रुपैयाँ, वातानुकूलित तेस्रो श्रेणी इकोनोमीको एक हजार ४१६ रुपैयाँ, वातानुकूलित तेस्रो श्रेणीको एक हजार ५४४ रुपैयाँ र वातानुकूलित दोस्रो श्रेणीको दुई हजार १७६ रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल रेल्वे कम्पनीका अनुसार रेल प्रत्येक सोमबार बिहान ५ः३० बजे अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ भने शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ । निर्धारित तालिकाअनुसार नियमित सञ्चालन हुने सेवाले दुवै देशका यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नेपाली यात्रुले टिकट लिन नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिन सक्ने व्यवस्था गरिएको प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए ।
जनकपुरधाम–अयोध्या रेलमा कुल १७ वटा डिब्बा रहनेछन् । जसमा वातानुकूलित दोस्रो श्रेणीका दुई, वातानुकूलित तेस्रो श्रेणीका तीन, तेस्रो श्रेणी इकोनोमीका तीन, स्लीपर श्रेणीका सात र एसएलआरका दुई डिब्बा छन् । विभिन्न श्रेणीका डिब्बाको व्यवस्था गरिएकाले यात्रुले आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार यात्रा गर्न सक्नेछन् ।
त्रेतायुगीन रामायण संस्कृतिसँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेल सेवा सञ्चालन गरिएको हो । यसले दुवै देशका तीर्थयात्रीलाई सहज आवागमनको अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले भारतको बिहार तथा उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ ।
रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायत स्थानमा व्यावसायिक बिसौनीको व्यवस्था गरिएको प्रबन्ध सञ्चालक पराजुलीले बताए । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने भएकाले जनकपुरधाम र अयोध्याका यात्रुका साथै रेलमार्गमा पर्ने विभिन्न सहरका बासिन्दासमेत लाभान्वित हुने कानुन व्यवसायी राजकुमार महासेठको भनाइ छ ।
नेपाल र भारतबीच सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन पनि रेल सेवाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए ।
#janakpurdham #rail #yatayat


