Skip to content

एनपीएलको चौथो संस्करणका खेल गौतमबुद्ध रङ्गशालामा सञ्चालन गर्ने तयारी

फ्लडलाइट, दर्शक सिट र फर्निसिङका काम अघि बढाउन मन्त्री लम्सालको निर्देशन

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले शनिबार रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माण कार्यलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा उनले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङका लागि लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिए ।

रङ्गशालाको बाँकी कामका लागि सानो विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिँदै मन्त्री लम्सालले आवश्यक प्रक्रिया पूरा गरी दुई–तीन महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताए । त्यसपछि तत्काल टेन्डर प्रक्रिया सुरु गर्न सकिने उनको भनाइ थियो ।

रङ्गशालामा फ्लडलाइट जडानलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री लम्सालले आगामी एनपीएलका खेलसमेत यहाँ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए ।

एनपीएलको चौथो संस्करण होम–अवे फर्म्याटमा सञ्चालन गर्ने वा पोखरा र चितवनलगायतका मैदान प्रयोग गर्ने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले निर्णय गरे गौतमबुद्ध रङ्गशालामा पनि खेल आयोजना गर्न सकिने उनले बताए ।

मन्त्री लम्सालले चौथो संस्करणमै गौतमबुद्ध रङ्गशालामा खेल सञ्चालन गर्न सकिनेमा आशा व्यक्त गरे । यद्यपि, यहाँ खेल हुने वा नहुने भन्ने विषय क्यानको निर्णयमा निर्भर रहने उनले स्पष्ट पारे ।

प्रतियोगिताका खेल विभिन्न स्थानमा विकेन्द्रित गरी तीन–चारवटा मैदान प्रयोग गर्ने निर्णय भए चितवनमा पनि खेल सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

निरीक्षणका क्रममा रङ्गशालाको बाँकी निर्माण तथा व्यवस्थापनका काम अघि बढाउने, फ्लडलाइट जडानका लागि लागत अनुमान तयार गर्ने र आवश्यक प्रक्रिया पूरा गरी टेन्डर आह्वान गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय