

म्याग्दी । अनुकूल मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ ।
दसैँ–तिहारको बिदा मनाउन नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गको भ्रमणमा जान थालेका छन् ।
मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार दसैँपछि दैनिक करिब २०० जना पर्यटक आधार शिविरको भ्रमणमा पुगिरहेका छन् ।
गत असोजमा आएको मनसुनजन्य विपद्बाट पदमार्गमा क्षति नपुगेको र क्षेत्र सुरक्षित रहेकाले बिदा मनाउन युवायुवती तथा रोजगारीमा संलग्न व्यक्तिहरूको आकर्षण बढेको गुरुङले बताए । उनका अनुसार पदमार्गमा रहेका रेस्टुरेन्ट र क्याम्पहरू पर्यटकले भरिभराउ हुन थालेका छन् ।
समुद्री सतहबाट चार हजार ५० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पर्यटकको आगमन बढेसँगै बेनी, भुरुङ–तातोपानी र नारच्याङका पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् ।
अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमै पूरा गर्न सकिने यो यात्रा छोटो, साहसिक र रमणीय रहेको अनुभव सुनाइन् ।
पर्यटकको सुविधाका लागि हुमखोलादेखि आधार शिविरसम्म विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना तथा बसोबासको व्यवस्था मिलाइएको छ । सन्धीखर्क, भुस्केट मेला र पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थलसमेत निर्माण गरिएको छ ।
त्यस्तै, हुमखोला, फुतफुते झरना, गुफाफाँट, भुस्केट र पञ्चकुण्ड क्षेत्रमा खानेपानी, शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । संघ, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भारसमेत गरिएको छ ।
आधार शिविरमा अन्नपूर्ण प्रथमको पहिलो आरोहण दलका मौरिस हर्जोग, लुइस लाचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ । त्यहाँ खुला सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । गत साता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र पनि स्थापना गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार पहिलो आरोही मौरिस हर्जोगको नामबाट यस पदमार्गको नामकरण गरिएको हो ।
नेपालको ‘जेठो हिमाल’का रूपमा चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने यस पदमार्गमा नारच्याङको दोभान, छोटेपा हुँदै हुमखोलासम्म करिब २० किलोमिटर सवारीसाधनमा यात्रा गर्न सकिन्छ । त्यसपछि करिब २१ किलोमिटर पैदल यात्रा गर्दै दुई दिनमा आधार शिविर पुग्न सकिन्छ ।
पदमार्गमा पर्ने फुतफुते झरना, आधार शिविर क्षेत्रको पञ्चकुण्ड ताल र वरिपरिका हिमशृङ्खलाको प्राकृतिक सुन्दरताले यस क्षेत्रको पदयात्रालाई थप आकर्षक बनाएको छ ।