

सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने धार्मिक मान्यताअनुसार यस वर्ष शनिबार पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।
धार्मिक शास्त्रअनुसार यमराजले लोकको खबर कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने गरिएको हो। यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने कामनासहित आज कागलाई पूजा गरी मीठा परिकार तथा खानेकुरा दिने चलन छ।
लोकपरम्परामा काग घरमा आएर कराएमा शुभ समाचार ल्याएको विश्वास गरिन्छ। त्यसैले काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलनसमेत रहिआएको छ।
काग तिहारका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना गरिन्छ। त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा छ।
तिहार पर्व यमराजसँग जोडिएको धार्मिक विश्वासमा आधारित छ। दुष्कर्म गर्नेलाई यमराजका रूपमा दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने मान्यता रहिआएको छ। यमराजको यातनाबाट मुक्ति पाउने धार्मिक विश्वासअनुसार परिवारका सबै सदस्यका नाममा यमदीपदान गर्ने परम्परा पनि छ। यो विधि शुक्रबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन परम्पराअनुसार यमदीप दक्षिणतर्फ फर्काएर दान गर्नुपर्ने मान्यता छ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो। कात्तिक कृष्ण त्रयोदशीको सायंकालमा यमपञ्चक सुरु हुने धार्मिक मान्यताअनुसार शुक्रबार नै धनतेरस पर्व पनि मनाइएको छ।
धनतेरसका दिन सुनचाँदीका गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्दा घरमा लक्ष्मीको स्थायी बास हुने धार्मिक विश्वास छ। यही मान्यताअनुसार शुक्रबार बजारमा गरगहना तथा भाँडाकुँडा खरिद गर्ने परम्परा निर्वाह गरिएको छ।