आफ्नै सरकारका तीन मन्त्रीलाई तोसिमाको प्रश्न : ‘डा. केसी पागल हुन् भने म पनि पागल हुँ’ भन्ने फेटा याद छ ?

आफ्नै सरकारका तीन मन्त्रीलाई तोसिमाको प्रश्न : ‘डा. केसी पागल हुन् भने म पनि पागल हुँ’ भन्ने फेटा याद छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न आफ्नै पार्टी नेतृत्वको सरकारसँग आग्रह गरेकी छन्। उनले विगतमा डा. केसीको समर्थनमा लगाइएका नारा र आन्दोलनका प्रसंग स्मरण गराउँदै सरकारमा सहभागी तीन मन्त्रीको ध्यानाकर्षण गराएकी छन्।

कार्कीले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै सरकारका मन्त्री सस्मित पोखरेल, विराजभक्त श्रेष्ठ र शिशिर खनाललाई ट्याग गरेकी छन्।

उनले विगतमा डा. केसीको समर्थनमा माइतीघरदेखि बानेश्वरसम्म घन्किएका नाराहरू स्मरण गराउँदै लेखेकी छन्, ‘ओली, देउवा, प्रचण्डः तिम्रो माफिया मोहले देश हुन्न प्रशन्न, एक–दुई–तीन–चारः बन्द गर भ्रष्टाचार, वी आर विथ डा. गोविन्द केसी, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीको साथमा।’

कार्कीले अगाडि लेखेकी छन्, ‘माइतीघर-बानेश्वरमा पटक–पटक घन्काइएका यी नाराहरू याद छ ? डा. केसी पागल हुन् भने ‘म पनि पागल हुँ’ भनेर आआफ्नो निधारमा बाँधेको त्यो फेटा याद छ ?’

उनले विगतका सरकारले डा. केसीसँग गरेका सम्झौता र वर्तमान सरकारले गरेको सम्झौतासमेत कार्यान्वयन गर्नुपर्ने बताएकी छन्।

‘विगतका हरेक सरकारले डा. केसीसँग गरेका सम्झौता र यही सरकारले गरेको सम्झौतासमेत अब यही ‘हाम्रो’ सरकारले कार्यान्वयन गर्नुपर्छ। डा. केसी एक्लै लडेका होइनन्, तपाईं–हामी सँगै लडेका थियौँ। अब ती मुद्दाहरूलाई मुकाममा पुर्‍याउने दायित्व बहन गरौँ,’ उनले लेखेकी छन्।

डा. केसीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कार्कीले उनको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न सरकारसँग आग्रह गरेकी छन्। ‘त्यो वृद्ध शरीरलाई यातना नदिऔँ। डा. केसीसँग आजै वार्ता सम्पन्न गरी उहाँको जीवन रक्षा गरियोस्,’ उनको आग्रह छ।