

काठमाडौं । आज (कात्तिक १६) देखि सरकारी कार्यालयको समय एक घण्टा घटेको छ। सरकारको निर्णयअनुसार अब तीन महिनासम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म कायम गरिएको हो। यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए।
हिउँदमा साँझ ५ बज्दा अँध्यारो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो।
सरकारले सातामा पाँच दिन अर्थात् आइतबारदेखि बिहीबारसम्म कार्यालय सञ्चालन गर्ने व्यवस्था पनि कायम राखेको छ। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई ध्यानमा राख्दै सुरु गरिएको दुई दिने बिदाको व्यवस्था सरकारले निरन्तरता दिँदै आएको छ।