

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । टेलिकमले आज सूचना जारी गर्दै लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न आवेदन खुलाएको जनाएको हो ।
टेलिकमका अनुसार नवौँ तहको उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृतमा एक–एक जना माग गरिएको छ । त्यस्तै, टेलिकम इन्जिनियर १०, सहायक प्रशासकीय अधिकृत ९, टेलिकम टेक्निसियन ९, चौथो तहका सहायक १७ र तेस्रो तहका जुनियर टेक्निसियन १२ जनासहित विभिन्न पदमा गरी ८० जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मंसिर ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने टेलिकमले जनाएको छ ।


