

काठमाडौँ । स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैरदलीय स्थानीय तह अभियान नेपाल’ले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।
अभियानले बिहीबार ऐक्यबद्धता सभासमेत आयोजना गर्दै स्थानीय सरकारको सञ्चालन र निर्णय प्रक्रियामा राजनीतिक दलहरूको हस्तक्षेप बढेको भन्दै त्यसको विरोध गरेको हो।
स्थानीय तहको निर्वाचनदेखि शासन सञ्चालनसम्म दलीय भागबन्डा र राजनीतिक हस्तक्षेपले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर पारेको अभियानको भनाइ छ। स्थानीय तह दलीय प्रतिस्पर्धाको थलो नभई नागरिकलाई सेवा दिने र स्थानीय विकासलाई गति दिने केन्द्र हुनुपर्ने अभियानले जनाएको छ।
अभियानले यसअघि पनि देशभर यस विषयमा बहस चलाउँदै आएको छ। दलको निर्देशनअनुसार चल्नुपर्ने अवस्थाले जनप्रतिनिधि जनताप्रति भन्दा पार्टीप्रति बढी उत्तरदायी हुनुपर्ने बाध्यता सिर्जना गरेको भन्दै अभियानले यसमा नीतिगत सुधारको माग गरेको छ।
अभियानले स्थानीय तहको निर्वाचन प्रणालीमा परिवर्तन गरी राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिने व्यवस्था हटाउनुपर्ने र स्वतन्त्र व्यक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ।