

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चक्रवातको प्रभावले नेपालका विभिन्न प्रदेशमा भारी वर्षा, चट्याङ र हावाहुरीसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चक्रवात भारतको भूभागमा प्रवेश गरिसकेको छ। यसको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा देखिन सक्ने अनुमान गरिएको छ। विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुन सक्नेछन्। ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
सम्भावित जोखिमबाट जोगिन मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र विपद्को सङ्केत देखिएमा तत्काल सुरक्षित स्थानमा जान आवश्यक छ।