

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीले पेस्तोल र करिब पाँच सय ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गोली लागेर भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । पक्राउ पर्नेमा उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका-१, चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि छन् ।
लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली परिचालन भएको थियो । प्रहरीका अनुसार राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६, शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजिएको थियो । तर, उनीहरू भाग्न खोजेपछि प्रहरीले आठ राउन्ड गोली चलाएको थियो ।
डीएसपी मिश्रका अनुसार चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गोली प्रहार गरिएको थियो । गोली लागेर दुवै भारतीय नागरिक घुँडामुनि घाइते भएका हुन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली, करिब पाँच सय ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार उक्त समूह लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिएका छन् ।