

वीरगन्ज । वीरगन्जस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार, परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल र रौतहटको बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसाद रहेका छन्।
प्रहरीले उनीहरूलाई बुधबार (कात्तिक ४ गते) नियन्त्रणमा लिएको हो।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी मल्लले जानकारी दिएका छन्।