

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार प्रतियोगिताको पहिलो खेलदेखि नै डीआरएस प्रविधि लागू गर्ने तयारी गरिएको छ।
यससम्बन्धी औपचारिक घोषणा क्यानले आज गर्ने तयारी गरेको बुझिएको छ। स्रोतका अनुसार भारतीय कम्पनीसँग सम्झौता गरेर डीआरएस प्रविधि ल्याउन लागिएको हो। यसका लागि दुईदेखि अढाई करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ।
डीआरएस प्रयोगमा लाग्ने खर्चको केही हिस्सा एनपीएलका फ्रेन्चाइज टोलीहरूले पनि बेहोर्ने गरी क्यानले मोडालिटी तयार गरिरहेको छ। यद्यपि, क्यानले कति रकम व्यहोर्ने र फ्रेन्चाइज टोलीहरूले कति हिस्सा बाँड्ने भन्ने विषय टुंगो लागिसकेको छैन।
क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा कृत्रिम बुद्धिमत्ता (एआई) बाट निर्मित भिडियो पोस्ट गर्दै एनपीएलमा डीआरएस प्रयोग हुने संकेत दिएका छन्।
डीआरएस क्रिकेटमा अम्पायरले गरेको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। मैदानमा अम्पायरले दिएको निर्णयमा चित्त नबुझेमा खेलको नियमअनुसार ब्याटिङ वा बलिङ गर्ने टोलीले रिभ्यु माग्न सक्छन्।
यस प्रणालीमा उपलब्ध प्रविधिअनुसार बल ट्र्याकिङ, अल्ट्रा-एज तथा अन्य दृश्य विश्लेषणको सहयोगबाट निर्णयको पुनरावलोकन गरिन्छ। यसले अम्पायरको निर्णय सही भए वा नभएको मूल्यांकन गर्न सहयोग पुर्याउँछ।
डीआरएसको प्रयोगले खेलका विवादास्पद निर्णयमा थप स्पष्टता ल्याउने र खेलको निष्पक्षता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिन्छ। अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग हुँदै आएको यो प्रविधि एनपीएलमा पनि लागू भए प्रतियोगिताको प्राविधिक व्यवस्थापनमा नयाँ अध्याय थपिनेछ।
नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपीएलमा डीआरएस भित्र्याउने तयारीसँगै प्रविधिमा हुने लगानी र त्यसको खर्च व्यवस्थापन पनि चासोको विषय बनेको छ। क्यानले औपचारिक घोषणा गरेपछि यसको प्रयोगसम्बन्धी विस्तृत विवरण र खर्च बाँडफाँटबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।