

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले काठमाडौंमा ‘नेपालमा आशा रोप्दै’ (Planting Hope in Nepal) अभियान आयोजना गरिएको छ।
अक्टोबर ८, २०२६ मा काठमाडौंस्थित कदाम्पा गुम्बा र ज्योभो कदाम्पा विद्यालयमा आयोजित कार्यक्रममा धार्मिक अगुवा, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी तथा स्वयंसेवकसहित २५० भन्दा बढी सहभागी भएका थिए।
सातवटा नागरिक समाज तथा धार्मिक संस्थाको संयुक्त आयोजनामा तीन घण्टासम्म सञ्चालन भएको कार्यक्रममा नेपालका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई आध्यात्मिक सान्त्वना, ऐक्यबद्धता र व्यावहारिक सहयोग प्रदान गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रममा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्म (सिन्चोनजी) का प्रतिनिधि र नागरिक अगुवाहरू सहभागी भएका थिए। उनीहरूले शान्ति, सहकार्य र मानवीय सेवाको साझा सन्देश दिँदै नेपालको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सामूहिक मौन प्रार्थना गरेका थिए।
कार्यक्रममा सहभागीहरूले नेपालको नक्सामा प्रतीकात्मक रिबन टाँसेर ऐक्यबद्धता प्रदर्शन गरेका थिए। नयाँ सुरुवात र पुनर्जागरणको प्रतीकका रूपमा प्रयोग गरिएको हरियो रिबन तथा नेपाली झण्डाका रङले देशव्यापी एकता र सामुदायिक सहयोगको भावना अभिव्यक्त गरेका थिए।
त्यस्तै, सहभागीहरूले विपद् प्रभावित समुदायको सम्मान र सम्झनामा प्रेरणादायी सन्देश लेख्नुका साथै आशा र हौसला प्रदान गर्ने गतिविधिमा सहभागिता जनाएका थिए।

कार्यक्रमका आयोजकहरूले विपद्बाट प्रभावित परिवारलाई पुनःस्थापना र पुनर्निर्माणका क्रममा आफूहरू एक्लो नभएको अनुभूति गराउनु अभियानको मुख्य उद्देश्य रहेको बताएका थिए।
आयोजकहरूले भने, “विपद्ले घर र जीविकोपार्जनका आधारहरू खोस्न सक्छ। तर, साँचो हेरचाह, सामूहिक प्रार्थना र साना–साना सहयोगका कार्यमार्फत पुनर्निर्माणमा जुटेका हाम्रा छिमेकीहरू एक्ला छैनन् भन्ने अनुभूति गराउन सक्छौँ।”
सहभागीहरूले एचडब्ल्यूपीएलका अध्यक्ष मान ही लीले अघि सारेको शान्तिको दर्शनलाई पनि साझा गरेका थिए। कठिन परिस्थितिमा पीडित छिमेकीको हेरचाहलाई प्राथमिकता दिनु, उनीहरूको पीडाप्रति सहानुभूति राख्नु र सहयोगका लागि सक्रिय हुनु नै वास्तविक शान्तिको अभ्यास भएको सन्देश कार्यक्रममा प्रस्तुत गरिएको थियो।
सहभागीहरूले एकदिने कार्यक्रममै सीमित नभई विपद् प्रभावित समुदायलाई सहयोग गर्न निरन्तर राहत तथा पुनःस्थापनाका गतिविधिमा संलग्न हुने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

एचडब्ल्यूपीएलका एक प्रतिनिधिले सेप्टेम्बर र अक्टोबरमा स्वदेशी तथा अन्तर्राष्ट्रिय धार्मिक अगुवाहरूको सहभागितामा भएका भेलापछि आयोजित यस अभियानले नेपाली जनताप्रतिको अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई थप विस्तार गरेको बताए।
उनले भने, “प्रार्थना भेलाहरूबाट उत्पन्न एकताको भावनालाई आधार बनाएर नेपालका स्थानीय स्वयंसेवी संस्थाहरूसँग सहकार्य गर्दै आशा जगाउने अभियानलगायत व्यावहारिक सहयोगका गतिविधिलाई निरन्तरता दिनेछौँ।”
अभियानले धार्मिक तथा सामाजिक विविधताबीच सहकार्य, मानवीय संवेदना र सामुदायिक एकताको महत्त्वलाई उजागर गरेको आयोजकहरूको भनाइ छ। विपद्का समयमा प्रभावित परिवारलाई भावनात्मक साथसँगै व्यावहारिक सहयोग उपलब्ध गराउन विभिन्न समुदायबीच सहकार्य आवश्यक रहेको सन्देशसमेत कार्यक्रममा दिइएको थियो।
‘नेपालमा आशा रोप्दै’ अभियान सातवटा साझेदार संस्थाको सहकार्यमा आयोजना गरिएको हो। अभियानमा सहभागी संस्थाहरू निम्न छन् :
१. हेभन्ली कल्चर, वर्ल्ड पिस, रेस्टोरेसन अफ लाइट (HWPL)
२. हामी नेपाली ग्लोबल (Hami Nepali Global)
३. इन्टरफेथ पिस फेडेरेसन नेपाल (IPFN)
४. कदाम्पा गुम्बा (Kadampa Monastery)
५. ज्योभो कदाम्पा विद्यालय (Jyovo Kadampa School)
६. ट्र्याक नेपाल (Track Nepal)
७. नेपाल मुस्लिम महिला कल्याण समाज (NMWWS)
विपद् प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजित यस अभियानले धार्मिक अगुवा, युवा, नागरिक समाज र स्वयंसेवकलाई एउटै मञ्चमा जोड्दै शान्ति, सहानुभूति र मानवीय सेवाको भावना प्रवर्द्धन गरेको छ।