

काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीले त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको थियो। ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए।
उनका अनुसार बाढीबाट क्षतिग्रस्त पुलमध्ये ११ वटामा ठूलो क्षति पुगेको थियो। ती पुलका लट्ठा बटारिनुका साथै डेक, बिम र छेउका जालीसमेत बगाएको थियो। बाँकी सातवटा पुलमा भने सामान्य क्षति पुगेको थियो।
बढी क्षति भएका ११ वटा पुलमा बटारिएका लट्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने, नयाँ स्टिल डेक तथा बिम जडान गर्ने र छेउका जाली राख्नेलगायतका काम गरिएको बुढाथोकीले बताए। अन्य सातवटा पुलमा सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
यी हुन् बृहत् मर्मत गरिएका पुल
कार्यालयका अनुसार बृहत् मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, बेलकोटगढी–५ र धादिङको गल्छी–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुल तथा बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुङ्गे पुल छन्।
त्यस्तै, धादिङको सिद्धलेक–३ र बेनीघाट रोराङ–३ जोड्ने पुल, नुवाकोटको बेलकोटगढी–५ स्थित केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने पुल तथा सिद्धलेक–६ र गजुरी–१ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको छ।
यसैगरी, धादिङको गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टार झोलुङ्गे पुल, गल्छी–१ र वडा नं. ४ जोड्ने पुल, गल्छी–२ र वडा नं. ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुङ्गे पुल तथा नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–२ जोड्ने कोल्पु कल्लेरीघाट पुल मर्मत गरिएका छन्।
गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको कार्यालयले जनाएको छ।
सामान्य मर्मतपछि सञ्चालनमा आएका पुल
गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे झोलुङ्गे पुल सामान्य मर्मतपछि सञ्चालनमा आएको छ। त्यस्तै, धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प झोलुङ्गे पुल, सिद्धलेक–५ र बेनीघाट रोराङ–३ जोड्ने मलेखु झोलुङ्गे पुल तथा गल्छी–२ र ४ जोड्ने बेल्खु भुतिया झोलुङ्गे पुलको पनि सामान्य मर्मत गरिएको छ।
यसैगरी, गोरखाको सहिद लखन–४ र चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार) झोलुङ्गे पुल, धादिङको गल्छी–२ र ४ जोड्ने महादेवस्थान झोलुङ्गे पुल तथा गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। बाढीबाट क्षतिग्रस्त पुल पुनः सञ्चालनमा आएपछि त्रिशूली करिडोर आसपासका स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।