चाडपर्वमा कालोबजारी र जुवातास नगर्न प्रशासनको चेतावनी, महेन्द्रनगरमा अस्वस्थकर मासु जफत

चाडपर्वमा कालोबजारी र जुवातास नगर्न प्रशासनको चेतावनी, महेन्द्रनगरमा अस्वस्थकर मासु जफत

महेन्द्रनगर । बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले कालोबजारी, कृत्रिम अभाव, जुवातास तथा गैरकानुनी गतिविधि नगर्न आग्रह गरेको छ। प्रशासनले चाडपर्वका बेला खाद्यान्न, इन्धन र ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा गुणस्तरहीन र म्याद गुज्रिएका वस्तु बिक्रीवितरण गर्नेमाथि सतर्क रहन सम्बन्धित सबैलाई अनुरोध गरेको हो।

बिहीबार साँझ प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले विशेष अनुरोधसहित सूचना जारी गर्दै नागरिक, सरोकारवाला निकाय, कार्यालय तथा सङ्घसंस्थालाई आ–आफ्नो जिम्मेवारी पूरा गरी समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न आग्रह गरेका छन्।

प्रशासनले चाडपर्वका बेला मनोरञ्जनका नाममा आतिसबाजी, भुइँचम्पा, पटाका, बारुद तथा अन्य विस्फोटक र आगलागी हुन सक्ने वस्तुको खरिदबिक्री, ओसारपसार र प्रयोग नगर्न तथा नगराउन अनुरोध गरेको छ।

त्यस्तै, जुवातास, चिठ्ठा, कौडा र सट्टेबाजी जस्ता गैरकानुनी गतिविधि नगर्न तथा नगराउन र सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न पनि प्रशासनले सचेत गराएको छ।

अनलाइन ठगीबाट सतर्क रहन आग्रह

चाडपर्वका बेला अनलाइन किनमेल, गैरकानुनी चिठ्ठा तथा सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिले दिने प्रलोभनपूर्ण प्रस्ताव र ठगीका गतिविधिबाट सतर्क रहन प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरेका छन्।

प्रशासनले परम्परागत चाडपर्वको सम्मान र संरक्षण गर्दै सबै धर्म, जातजाति तथा संस्कृतिप्रति आदरभाव राख्न पनि अनुरोध गरेको छ। तडकभडक र अवाञ्छित गतिविधिबाट टाढा रही आपसी शुभकामना, सहयोग र मेलमिलापको भावनाका साथ मर्यादित तथा अनुशासित रूपमा चाडपर्व मनाउन प्रशासनले जोड दिएको छ।

सामाजिक सद्भाव, भाइचारा र शान्ति कायम राख्न सबै नागरिक तथा सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको प्रशासनको भनाइ छ।

आपत्कालीन सेवा तयारी अवस्थामा राख्न निर्देशन

चाडपर्वको समयमा अस्पताल, एम्बुलेन्स, दमकल, स्काभेटर, आवश्यक जनशक्ति तथा इन्धनलगायत अत्यावश्यक सामग्री र सेवालाई तयारी अवस्थामा राख्न प्रशासनले मातहतका निकायलाई अनुरोध गरेको छ।

त्यसैगरी, मौसममा हुन सक्ने परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा रहन पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

महेन्द्रनगरका मासु पसलमा अनुगमन, अस्वस्थकर मासु जफत

यसैबीच, जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ महेन्द्रनगर बजारमा सञ्चालित मासु पसलहरूको अनुगमन गरेको छ। अनुगमनका क्रममा अस्वस्थकर मासु बरामद गरी जफत गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिएका छन्।

चाडपर्वका बेला खाद्यवस्तुको माग बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै गुणस्तरीय वस्तुको बिक्रीवितरण सुनिश्चित गर्न प्रशासनले अनुगमनलाई प्राथमिकता दिएको जनाएको छ।