

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ।
पौराणिक मान्यताअनुसार देवकार्य सम्पन्न गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा अवतरित भएकी थिइन्। उनको बालसौन्दर्यबाट प्रभावित ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ।
नवरात्रका नौ दिन देवी दुर्गाका नौवटा स्वरूपको क्रमशः पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँघर तथा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसयता क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा र स्कन्दमाता देवीको पूजा आराधना गरिसकिएको छ। आज छैटौँ दिन कात्यायनी देवीको विशेष पूजा गरिँदै छ।
नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। यस अवधिमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।
शक्तिपीठमा भक्तजनको घुइँचो
नवरात्रको अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी र बगलामुखीलगायत मन्दिरमा भक्तजन पूजा तथा दर्शनका लागि पुगिरहेका छन्।
त्यस्तै, उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा
नवरात्रका नौ दिन पूजा आराधना गरी राखिएको जमरा तथा देवीको प्रसादका रूपमा टीका लगाउने परम्परा छ। देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाइन्छ भने कतिपय स्थानमा कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका लगाउने चलन छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिन्छ। यसरी नेपालीले बडादसैँलाई करिब १५ दिनसम्म हर्षोल्लासका साथ मनाउने परम्परा रहिआएको छ।