फिफा काउन्सिल बैठकमा उठेन नेपालको निलम्बनको विषय

फिफा काउन्सिल बैठकमा उठेन नेपालको निलम्बनको विषय

काठमाडौं । नेपाली फुटबलमाथिको निलम्बन फुकुवाबारे छलफल हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को काउन्सिल बैठक सकिएको छ। तर, बैठकपछि फिफाले जारी गरेको आधिकारिक विज्ञप्तिमा अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बनबारे छलफल भएको वा कुनै निर्णय लिइएको उल्लेख छैन।

स्विट्जरल्यान्डको ज्युरिखस्थित फिफाको मुख्यालयमा बिहीबार बसेको काउन्सिलको ३७औँ बैठकमा नेपालको विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको थियो। बैठकको कार्यसूचीमा एन्फाको अवस्थासम्बन्धी विषयसमेत समावेश रहेको बताइएको थियो।

यद्यपि, बैठकपछि फिफाले सार्वजनिक गरेको विज्ञप्तिमा फुटबल विकासमा लगानी वृद्धि, फिफा फर्वार्ड इन्टरप्राइज प्रस्ताव, संस्थाको शासन प्रणालीमा सुधार, फिफा शान्ति पुरस्कार र अनुशासनसम्बन्धी प्रक्रियाको पुनरावलोकनलगायतका विषय उल्लेख छन्। नेपाली फुटबलमाथिको निलम्बनबारे भने विज्ञप्ति मौन छ।

फिफाले गत जुन २५ मा सरकारी निकायबाट तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै एन्फालाई निलम्बन गरेको थियो। त्यसयता नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित हुँदै आएको छ। निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउने अवसरसमेत गुमाएको छ।

नेपाली फुटबलको निलम्बन फुकुवाका लागि आवश्यक कदम चालिने अपेक्षाका बीच बसेको फिफा काउन्सिल बैठकबाट नेपालको विषयमा कुनै जानकारी सार्वजनिक नहुनुले अन्योल थप लम्बिने संकेत गरेको छ। बैठकपछि पनि निलम्बन फुकुवाबारे स्पष्ट निर्णय सार्वजनिक नभएकाले नेपाली फुटबलको अन्तर्राष्ट्रिय भविष्यबारे प्रतीक्षा कायमै रहेको छ।