

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्न १० दिनको सूचना जारी गर्ने निर्णय गरेको हो।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार सार्वजनिक माध्यमबाट आगामी कात्तिक ९ गते सूचना प्रकाशित गर्न समिति सचिवालयलाई निर्देशन दिइएको छ।
केही दिनअघि बसेको न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी आह्वान गर्न लागिएको हो।