

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदै छ। दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक देवीको आह्वान गरी पूजा गर्ने धार्मिक परम्परा छ।
नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो। आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्।
धार्मिक विश्वासअनुसार नवरात्रमा देवीको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नौ दिनसम्म पूजा आराधना गरी प्रसादका रूपमा ग्रहण गरिएको जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ।
धार्मिक मान्यताअनुसार संसारका समग्र प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनारत रहने देवीलाई ब्रह्मचारिणी भनिएको हो।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ। राज्यका तर्फबाट नवदुर्गाको पूजा गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।