भारतसँगको सम्बन्धलाई परिणाममुखी आर्थिक साझेदारीमा बदल्ने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता

भारतसँगको सम्बन्धलाई परिणाममुखी आर्थिक साझेदारीमा बदल्ने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता

काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई भावनात्मक निकटतामा मात्र सीमित नराखी ठोस परिणाममुखी आर्थिक साझेदारीमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पाण्डेले सार्वभौम समानता, आपसी सम्मान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक जिम्मेवारी निर्वाह गर्ने बताएका हुन्।

उनले नेपालको संविधान, पञ्चशीलका सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा नेपालको परराष्ट्र नीति सञ्चालन हुने स्पष्ट पारे।

“सरकारको आधिकारिक नीति र कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु नै राजदूतको प्रमुख दायित्व हुनेछ,” उनले कार्ययोजना प्रस्तुत गर्दै भने।

पाण्डेले आफ्नो कार्ययोजनामा ऊर्जा, व्यापार, सीमा व्यवस्थापन र कनेक्टिभिटीलाई मुख्य प्राथमिकतामा राखेका छन्। आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य हासिल गर्न पहल गर्ने उनको योजना छ।

त्यसैगरी, दीर्घकालीन विद्युत् खरिद सम्झौताको कार्यान्वयन, प्रसारण लाइन विस्तार तथा गैरभन्सार अवरोध न्यूनीकरणमार्फत व्यापार घाटा घटाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

नेपाल–भारत सम्बन्धलाई आर्थिक सहकार्य र पारस्परिक लाभका आधारमा थप सुदृढ बनाउँदै राष्ट्रिय हित प्रवर्द्धन गर्ने उनको कार्ययोजनाको मुख्य उद्देश्य रहेको छ।