

मकवानपुर । लगातार भइरहेको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह १ हजार ५२६ मिटर पुगेको छ। नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जलाशयको पानीको सतह अझै बढ्न सक्ने भन्दै ड्याम आसपासका बासिन्दा तथा सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ।
जलविद्युत् केन्द्रका अनुसार जलाशयको पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने व्यवस्था छ। जलाशयमा पानीको सतह निरन्तर बढिरहेकाले ड्याम आसपास तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
कुलेखानी जलविद्युत् केन्द्रले जोखिमसम्बन्धी सूचना अन्य व्यक्तिसम्म समेत पुर्याई सम्भावित विपद्बाट सुरक्षित रहन सहयोग गर्न अनुरोध गरेको छ।