

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ५४ अंकले बढेर २ हजार ६९५ दशमलव ६० विन्दुमा पुगेको छ। यससँगै कारोबार रकम पनि बढेर ८ अर्ब ५७ करोड रुपैयाँ नाघेको छ।
बुधबार पनि बढेर बन्द भएको नेप्सेले बिहीबारसमेत वृद्धिको क्रमलाई निरन्तरता दिएको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ६ दशमलव ४१ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स २ दशमलव २७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २५ अंकले बढेका छन्।
बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा बिहीबार ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर किनबेच भएका छन्। ६९ हजार ६१९ पटकको कारोबारमा कुल ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो।
यो कारोबार रकम करिब साढे छ महिनायताकै उच्च हो। यसअघि गत वैशाख ३ गते नेप्सेमा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बेनी हाइड्रोपावरमा सकारात्मक सर्किट
यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ८० रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
त्यस्तै, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य पनि ३ दशमलव ६५ प्रतिशतले बढेको छ।
घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यसैगरी, सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
सबै उपसमूहमा हरियाली
बिहीबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। अन्य उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ४५ प्रतिशतले बढेको छ।
बैंकिङ तथा होटल र पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढ्दा विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।