

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा जनकपुरले काठमान्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।
काठमान्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रनको अर्धशतकीय पारी खेले। यस्तै, सैफ हसन ४० रनमा अविजित रहे।
बलिङतर्फ काठमान्डुका रिपोन मन्डोलले एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमान्डुको इनिङ्स ध्वस्त पार्ने क्रममा राहुल यादवले सर्वाधिक चार विकेट लिए। सैफ हसनले दुई विकेट लिँदा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट हात पारे।
यसअघि पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमान्डुलाई हराउँदै जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।