शुक्रबार देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

शुक्रबार देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसमी पूर्वानुमानअनुसार शुक्रबार देशका अधिकांश स्थानमा दिनभर वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशका पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहेको विभागले जनाएको छ।

वर्षा र हावाहुरीका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहतका काममा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

शनिबारदेखि वर्षाको तीव्रता घट्ने

मौसम विभागका अनुसार शनिबारदेखि वर्षाको तीव्रता घट्दै पश्चिमतर्फ सर्दै जाने सम्भावना रहेको छ। आइतबारदेखि भने वर्षाको गतिविधि थप कम हुँदै जाने पूर्वानुमान गरिएको छ। हाल देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। साथै, बङ्गालको खाडीमा रहेको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास केन्द्रित रहेको विभागले जनाएको छ।

उक्त प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै रूपमा उत्तर-पश्चिमतर्फ सर्ने र त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको विभागको भनाइ छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भू-भागमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।