काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई)बाट फ्लाई दुबईमार्फत काठमाडौं आएका भारतको केरलाका मोहमद चेरा ठोदीलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थलका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार उनले ल्याएको सुन अर्धठोस अवस्थामा रहेको थियो।
विमानस्थलमा खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्र (पेन्टी)भित्र प्लास्टिकमा बेरिएको अवस्थामा उक्त सुन फेला पारेको हो।
पक्राउ परेका ठोदीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी सिलवालले जानकारी दिए।