

काठमाडौँ । निखिल आचार्य निर्देशित बहुप्रतीक्षित चलचित्र ‘आचार्य’ ले सेन्सर पास गरेको छ। चलचित्रलाई सेन्सर बोर्डले ‘ए’ (एडल्ट) प्रमाणपत्र दिँदै प्रदर्शन अनुमति दिएको हो। चलचित्र शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ। एक्सनप्रधान चलचित्रमा हिंसात्मक दृश्य रहेकाले ‘एडल्ट’ प्रमाणपत्र दिइएको सेन्सर बोर्ड स्रोतले जनाएको छ।
सेन्सर बोर्डले चलचित्रका कुनै पनि दृश्यमा कैंची नचलाएको बताइएको छ। तर, १८ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा मात्रै चलचित्र हेर्न पाउनेछन्। चलचित्रको लम्बाइ करिब पौने तीन घण्टा रहेको निर्माण पक्षले जनाएको छ।
हाल हलमा नेपाली तथा विदेशी चलचित्रको चाप रहे पनि ‘आचार्य’ले प्रदर्शकबाट उल्लेख्य शो पाएको छ। प्रदर्शनअघि सार्वजनिक टिजर तथा ट्रेलरले चर्चा र प्रशंसा पाएपछि प्रदर्शकहरूले चलचित्रबाट आक्रामक ओपनिङको अपेक्षा गरेका छन्। चलचित्रको प्रि-बुकिङले पनि उत्साहजनक संकेत देखाएको बताइएको छ।
तर, निर्माण पक्षका लागि मौसम चुनौती बन्न सक्ने देखिएको छ। शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न भागमा भारी वर्षाको प्रक्षेपण रहेकाले त्यसको प्रत्यक्ष असर चलचित्रको व्यापारमा पर्न सक्ने आकलन गरिएको छ। ‘आचार्य’मा निखिल उप्रेती मुख्य भूमिकामा छन्। चलचित्रमा केही भारतीय कलाकारको समेत अभिनय रहेको छ। चलचित्रको निर्माण निखिलकी पत्नी सञ्चिता लुईंटेलले गरेकी हुन्।