

काठमाडौँ । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ। केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा बहाव बढ्न सक्ने र बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली र महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
दिउँसो तथा राति ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी भएर बग्ने नदी तथा खोलामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी तथा आसपासका जिल्लाका स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति कोसी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।