

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक बुधबार बस्दैछ। बैठकमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ। मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन्। नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
दुई दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन समय लाग्दा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मुख्यमन्त्री शाहीले भने प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १४ र नेकपा (एमाले)का १० सांसद छन्। दुई दलका सांसदको संख्या मात्रै २४ पुग्ने भएकाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त गर्न सहज देखिएको छ। विश्वासको मतपछि सरकार विस्तार र मन्त्रालय बाँडफाँडको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।