

काठमाडौँ । रसुवा भोटेकोसी बाढीका कारण त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर १० दिनपछि उद्धार गरिएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्।
बाढीपछि सुरुङभित्र फसेका साहलाई १०औँ दिनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विज्ञसहितको संयुक्त उद्धार टोलीले सकुशल उद्धार गरेको थियो। त्यसपछि उनलाई उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको थियो।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सात दिन अस्पतालमा उपचारपछि साह आज डिस्चार्ज भएर घर फर्किएका हुन्। साह त्रिशूली–३ ए जलविद्युत् आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत छन्। सुरुङबाट साहसँगै अर्का एक जनाको समेत उद्धार गरिएको थियो। उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।