

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि सात प्रदेश निर्वाचन संयोजक तोकेको छ।
निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि सात जना वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजकको जिम्मेवारी दिएका हुन्।
निर्णयअनुसार कोशीमा डिल्लीबहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई संयोजक तोकिएको छ।
संयोजक खड्काका अनुसार केन्द्रीय निर्वाचन समितिले बिहीबार वडादेखि जिल्लासम्मका पार्टी संरचनालाई पत्र पठाउँदै निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न केन्द्रबाट खटिएका निर्वाचन अधिकृतसँग आवश्यक समन्वय गर्न निर्देशन दिएको छ।
केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते गाउँ–नगर वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। स्थानीय अवस्था र अनुकूलताअनुसार वडा अधिवेशन सम्पन्न गर्न समितिले आग्रह गरेको छ।
त्यस्तै, असोज ७ गते गाउँ–नगर अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तय गरिएको छ। कांग्रेसले यसअघि नै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरिसकेको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने सम्बन्धित निर्वाचन अधिकृत र स्थानीय पार्टी संरचनाबीच समन्वय गरी अधिवेशन सम्पन्न गर्न समितिले निर्देशन दिएको छ।
कांग्रेसले जिल्ला तथा प्रदेश अधिवेशन भने १५औँ महाधिवेशनपछि गर्ने तयारी गरेको छ।