

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन्। यस अवसरमा वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याइँदैछ। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशेऔँशीमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्ने परम्परा छ। धार्मिक मान्यताअनुसार यसरी राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ।
धार्मिक मान्यताअनुसार आज उखेलिएको कुश वर्षभर देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिन्छ। अन्य दिन उखेलिएको कुश भने सोही दिन मात्र प्रयोग गर्न मिल्ने मान्यता रहेको प्रा. डा. देवमणि भट्टराईले बताएका छन्।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने गर्छन्। आज घरमा भित्र्याइएको कुश वर्षभर हुने विभिन्न धार्मिक तथा पितृकार्यमा प्रयोग गरिन्छ।
कुशेऔँशीलाई बाबुको मुख हेर्ने दिनका रूपमा समेत मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्दै आशीर्वाद लिने गर्छन्। बाबु दिवङ्गत भइसकेकाले भने विभिन्न तीर्थस्थलमा गई बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्ने परम्परा छ।
यस अवसरमा काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने भएकाले यस दिनलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ। गोकर्णेश्वरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न श्रद्धालुको घुइँचो लाग्ने गर्छ।
यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि पितृको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा छ। तर, यस वर्ष भोटेकोशी बाढीका कारण वेत्रावतीमा मेला हुने–नहुने निश्चित भइसकेको छैन।
‘पितृदेवो भव’ भन्ने मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराई आशीर्वाद लिए सुख प्राप्त हुने विश्वास गरिन्छ। दिवङ्गत बाबुको नाममा तीर्थस्थलमा तर्पण तथा सिदादान गरे पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।