

काठमाडौँ । नेपाली कांग्रेसका दुई दर्जन नेताले संस्थापन र संस्थापनइतर समूहलाई १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि निर्णायक वार्ता थाल्न आग्रह गरेका छन्।
पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका नेताले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई महाधिवेशनको कार्यतालिका स्थगित गरेर तत्काल वार्ता प्रारम्भ गर्न आग्रह गरेका हुन्।
‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै दुवै पक्षबाट जारी गरिएका १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसको बृहत् एकताका लागि सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण हुने उनीहरूको भनाइ छ। देश संकटमा रहेको संवेदनशील अवस्थामा पार्टीभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट विवाद समाधान गरी कांग्रेसलाई एकढिक्का बनाउन उनीहरूले अपिल गरेका छन्।
राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली कांग्रेस निर्माणमा सबै पक्ष जुट्नुपर्ने उनीहरूको जोड छ।
विज्ञप्ति जारी गर्ने सबै नेता कांग्रेसको १४औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा समूहबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए। विज्ञप्ति जारी गर्नुअघि उनीहरूले पूर्वसभापति देउवा, पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए।
उनीहरूले देउवा, खड्का र कोइरालासँग छलफल गरेपछि सभापति थापालाई समेत भेटेको बताइएको छ।
कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। यता, देउवा समूहले भने असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने छुट्टै कार्यतालिका अघि सारेको छ। सहमतिको प्रयास सफल नभए कांग्रेसमा समानान्तर महाधिवेशन हुन सक्ने देउवा समूहका नेताहरूले बताउँदै आएका छन्।