आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा पनि मध्यम वर्षा हुन सक्ने

आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा पनि मध्यम वर्षा हुन सक्ने

काठमाडौँ । आज शुक्रबार देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका थोरै तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात, पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हुरी चल्ने सम्भावना पनि छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

रातिको समयमा पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेश, कोसी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज काठमाडौँ उपत्यकामा पनि दिउँसो तथा साँझतिर वर्षा हुने सम्भावना रहेको छ। मौसमविद् डेभिड ढकालका अनुसार मध्याह्नपछि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना बढ्नेछ। उपत्यकाका सबै क्षेत्रमा एकनासको वर्षा नहुने भन्दै उनले कतै मध्यमसम्म र कतै हल्का तथा छिटपुट वर्षा हुन सक्ने बताएका छन्। त्यसअघि भने काठमाडौँ उपत्यकाको मौसम घाम लाग्ने र बदली हुने क्रम चलिरहने सम्भावना रहेको छ।