रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनामा तीव्रता

रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनामा तीव्रता

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सक्रियता बढाएको छ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ। बाँकी क्षेत्रमा विद्युत् पुर्‍याउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालन गरिएको छ।

यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

चिलिमे आयोजनामा मड पम्प, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत पुर्‍याइएको छ। रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह तथा आसपासका क्षेत्रमा पुगेको छ। लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो तथा ठूला चट्टान हटाउने काम भइरहेको छ भने माथिल्लो त्रिशूली–३ ‘बी’मा मिनी एक्स्काभेटर तथा बबक्याट प्रयोग गरी भग्नावशेष हटाइँदैछ।

मैलुङ खोला आयोजनामा नेपाली सेना र दक्षिण कोरियाली विशेषज्ञ टोलीले स्थलगत रेकी गरेको छ। बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १३ वटा कार्यालय प्रयोजनका र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ।

रसुवामा विद्युत् सेवा सञ्चालन गर्न समय लाग्ने थप १ हजार २६८ घरधुरी पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ। सडक अवरुद्ध भएका स्थानमा हेलिकप्टरमार्फत सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए।