

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले आज उमा–महेश्वर तथा दुबोको पूजा–आराधना गर्दै अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। विशेषगरी पश्चिम नेपालका मौलिक पर्वका रूपमा मनाइने गौरा पछिल्लो समय काठमाडौंलगायत अन्य क्षेत्रमा पनि विस्तार भएको छ।
चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने गौरा शुक्ल पक्षमा परे ‘उज्याली गौरा’ र कृष्ण पक्षमा परे ‘अँध्यारी गौरा’ भनिन्छ। यस वर्षको गौरा कृष्ण पक्षमा परेकाले अँध्यारी गौरा भनिएको हो। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्षमा पर्ने उज्याली गौराबाट व्रत सुरु गर्नुपर्ने धार्मिक विधान छ।
मानसखण्ड, निर्णयसिन्धु र हेमाद्रिलगायत ग्रन्थमा सिंह राशिमा सूर्य रहेका बेला अर्थात् भाद्र महिनामा गौरा मनाउनुपर्ने उल्लेख छ। कन्या राशिमा सूर्य प्रवेश गरेपछि अर्थात् असोज लागेपछि गौरा मनाउन नहुने शास्त्रीय मान्यता रहेको छ।
देउडा संस्कृतिविद् तथा गायक नन्दकृष्ण जोशीका अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न भाद्र महिनामा कठिन तपस्या गरेको स्मरणमा पश्चिम नेपालमा गौरा पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।
गौरा पूजाका लागि कुश, काँस, सामा, तीतेपाती र अपामार्गलगायत पाँच प्रकारका वनस्पति प्रयोग गरी देवीको प्रतीक बनाइन्छ। उक्त प्रतीकलाई भाद्र कृष्ण अष्टमीका दिन सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा छ।
गौरा भित्र्याउँदा गाउँका नायकले देवीलाई घरमा ल्याउने र त्यस क्रममा अरूले नहेर्नुपर्ने धार्मिक मान्यता रहेको छ।
गौराको तयारीका क्रममा भाद्र कृष्ण पञ्चमीमा केराउ, जौ, मस्याङ, मास र गुराँसका गेडा भिजाएर राखिन्छ। यी पाँच प्रकारका गेडागुडीलाई ‘बिरुडा’ भनिन्छ। अष्टमीका दिन गौरालाई बिरुडा चढाएर प्रसादका रूपमा भक्तजनलाई वितरण गरिन्छ। यही कारण पञ्चमीलाई बिरुडा पञ्चमी पनि भनिन्छ।
दुई–तीन दिन पूजा गरेपछि मंगलबार र शनिबार नपारी गौरा देवीलाई नदी, कुवा, पोखरी वा अन्य जलाशयमा लगेर विसर्जन गर्ने परम्परा छ। विसर्जनपछि मागल, भजन तथा देउडा गीत गाउँदै नाचगान गरेर रमाइलो गर्ने चलन छ।
गौरा पर्वकै अवसरमा दुबोको पूजा गरिने भएकाले अष्टमीलाई दुर्वाष्टमीसमेत भनिन्छ। दुबो जसरी फैलिन्छ, त्यसरी नै सन्तान र दरसन्तानको वृद्धि होस् भन्ने कामनाका साथ उमा–महेश्वरको पूजा तथा व्रत गर्ने धार्मिक परम्परा छ।
सन्तान स्वस्थ, दीर्घायु र गुण सम्पन्न होऊन् भन्ने कामनासमेत यस पर्वमा गरिन्छ। धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा नगर्ने शास्त्रीय मान्यता छ।
हेमाद्रि ग्रन्थमा दुबो र गौराको पूजा गर्दा सौभाग्य, सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने उल्लेख रहेको बताइन्छ।
गौरा पर्वका अवसरमा सुदूरपश्चिमवासी देउडा गीत र नृत्य गर्दै रमाइलो गर्छन्। काठमाडौंको टुँडिखेललगायत विभिन्न स्थानमा समेत सुदूरपश्चिम तथा मध्यपश्चिमबाट आएका समुदायले सामूहिक रूपमा गौरा पर्व मनाउने गरेका छन्।