

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित चलचित्र ‘सामुक’मा चर्चित हलिउड प्राविधिकहरू जोडिएका छन्। भारतकै पहिलो ठूलो स्तरको सर्भाइभल–एक्सन एलियन थ्रिलरका रूपमा निर्माण भइरहेको फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन हलिउडका अनुभवी प्राविधिक सहभागी भएका हुन्।
कनिष्क वर्माको निर्देशनमा बनिरहेको चलचित्रको छायाङ्कन हाल बेलायतको वेल्सस्थित कार्डिफलगायत विभिन्न स्थानमा भइरहेको छ।
फिल्मको अन्तर्राष्ट्रिय प्राविधिक टोलीमा मार्भलको चर्चित चलचित्र ‘एभेन्जर्स: डुम्सडे’का आर्ट डाइरेक्टर क्रिस पिटर्स आबद्ध भएका छन्। चलचित्रमा सैन्य यथार्थवाद, अस्तित्वका लागि संघर्ष र एलियन रहस्यलाई मुख्य कथावस्तु बनाइएको छ।
फिल्ममा एआईमा आधारित दृश्यभन्दा बढी हातैले निर्माण गरिएका वास्तविक एलियन जीवका मोडल तथा विशेष प्रभाव प्रयोग गर्ने तयारी गरिएको छ। मुख्य एलियनको डिजाइन अस्कर मनोनित ‘क्रिएचर डिजाइनर’ एलेक गिलिसले गरिरहेका छन्।
त्यस्तै, चलचित्रका एक्सन दृश्यको जिम्मेवारी ‘मिसन: इम्पसिबल’ र ‘नो टाइम टु डाइ’मा काम गरिसकेका हलिउड स्टन्ट कोअर्डिनेटर लुक्स टम्बरले सम्हालिरहेका छन्।
अभिनेता अक्षय कुमार र निर्माता विपुल अमृतलाल शाहले १२ वर्षपछि पुनः सहकार्य गर्न लागेको यस चलचित्रमा अक्षय मुख्य भूमिकामा देखिनेछन्। नायिकाको भूमिकाका लागि बङ्गाली अभिनेत्री रुक्मिणी मैत्राको नाम चर्चामा छ।
चलचित्र सन् २०२७ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।