काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन्। त्यस्तै, ५३२ जनाको आंशिक अंग फेला परेको तथा अस्पतालमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म १ हजार १४१ जना मृतकको पहिचान हुन सकेको छैन। पहिचानका लागि मृतकका १ हजार १४३ तथा आफन्तका ७१९ गरी कुल १ हजार ८६२ वटा डीएनए नमुना संकलन गरिएको छ।
पहिचान हुन नसकेका शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। डीएनए परीक्षणबाट पहिचान खुलाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, बाढीपछि स्वदेशी तथा विदेशी गरी ४ हजार ७९८ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको छ।