

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली सुरुङभित्र प्रवेश गरेको छ। शुक्रबार बिहान सुरुङभित्रबाट थप आवाज सुनिएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको हो। यसअघि सोही सुरुङबाट दुई जनाको सकुशल उद्धार गरिएको थियो।
भदौ १९ गते बिहान नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। सप्तरीका साह मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत थिए।
उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
‘बाढी आएको १०औँ दिनमा भदौ १९ गते बिहान रसुवास्थित त्रिशूली–३ ‘ए’बाट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका दुईजनाको जीवितै उद्धार गरेर उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको छ,’ सशस्त्र प्रहरीले जनाएको छ।
६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। आयोजनाका अनुसार बाढीपछि ४२ जना कर्मचारी तथा कामदार सुरुङ क्षेत्रमा फसेका थिए। थप आवाज सुनिएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि टोलीले पुनः सक्रियता बढाएको छ।