

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि ‘अपर त्रिशूली-३ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका ३० वर्षीय सञ्जय साह सप्तरीको कोइलाडी-८ का हुन्। उनी त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकलतर्फ फोरम्यानका रूपमा कार्यरत थिए।
त्यस्तै, सोही आयोजनाको अटोमेसन प्रोजेक्टमा कार्यरत ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जनको पनि जीवितै उद्धार गरिएको छ। महर्जन काठमाडौंको बालकुमारी-३ का हुन्।
उद्धार गरिएका दुवै जनालाई आवश्यक उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि आयोजनाको सुरुङमा फसेका उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोली परिचालन गरिएको थियो।