

काठमाडौं । नेपालले चीनसँग जोडिएको सीमावर्ती क्षेत्रमा बाढी तथा पहिरोको जोखिमबारे समयमै जानकारी गराउने पूर्वसूचना प्रणाली पुनर्निर्माण गर्ने तयारी गरेको छ।
यसका लागि भूकम्पीय कम्पनसमेत मापन गर्न सक्ने सेन्सर, निगरानी क्यामेरा र स्याटेलाइट लिंक जडान गर्ने तयारी गरिएको हो। गत भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेपछि सीमा क्षेत्रमा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन लागिएको हो।
सरकारले रसुवाको सीमावर्ती टिमुरेमा पहिलो चरणमा क्यामेरा, सेन्सर र भेरी स्मल एपर्चर टर्मिनल (भिस्याट) जडान गर्ने तयारी गरेको जनाइएको छ। मोबाइल नेटवर्क अवरुद्ध भए पनि निगरानी केन्द्रबीच सञ्चार सम्पर्क कायम राख्न भिस्याट प्रयोग गरिनेछ।
उक्त प्रणालीमार्फत बाढी, पहिरो तथा अन्य सम्भावित जोखिम पहिचान गरी तल्लो तटीय क्षेत्रमा रहेका समुदायलाई तत्काल चेतावनी दिन सकिने अपेक्षा गरिएको छ।
भदौ १० गतेको बाढीपछि सीमावर्ती क्षेत्रमा रहेका कम्तीमा चारवटा जलमापन केन्द्रसँग सम्पर्क विच्छेद भएको थियो। त्यसपछि नयाँ प्रविधिबाट पूर्वसूचना प्रणालीलाई थप बलियो बनाउने तयारी गरिएको हो।
सरकारले पहिलो चरणमा एउटा संवेदनशील स्थानमा मात्र क्यामेरा, सेन्सर र भिस्याट जडान गर्ने र त्यसको प्रभावकारिताका आधारमा अन्य स्थानमा समेत विस्तार गर्ने योजना बनाएको छ। उपकरण जडानका लागि उपयुक्त स्थान पहिचान गर्न अधिकारीहरूले हेलिकप्टरबाट क्षेत्रको निरीक्षणसमेत गरिसकेका छन्।
गत साता हिमचट्टान भत्किएपछि नेपाल–चीन सीमावर्ती क्षेत्रमा बनेका दुईवटा तालबाट पानी बगेर निस्किएपछि तत्कालको जोखिम केही कम भएको छ। तर भूभाग अझै अस्थिर रहेकाले निरन्तर निगरानी आवश्यक रहेको अधिकारीहरूको निष्कर्ष छ।
यद्यपि, सरकारले पूर्वसूचना प्रणाली पुनर्निर्माणको यो योजना औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन। प्रणाली सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा उत्पन्न हुन सक्ने बाढी तथा पहिरोको जोखिमबारे समयमै सूचना पाएर तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ।