भोटेकोशी बाढीका बेवारिसे शव पहिचान गर्न प्रहरीले डीएनए परीक्षण अघि बढायो

भोटेकोशी बाढीका बेवारिसे शव पहिचान गर्न प्रहरीले डीएनए परीक्षण अघि बढायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा फेला परेका बेवारिसे शव र मानव अंगको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।

भदौ १० गते आएको भीषण बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव र शरीरका भागको पहिचान गर्न प्रहरीले सूचना जारी गर्दै मृतकसँग रगतको नाता पर्ने आफन्तबाट डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको हो।

प्रहरीका अनुसार स्वदेश तथा विदेशमा रहेका बेपत्ता नेपाली तथा विदेशी नागरिकका सबैभन्दा नजिकका रगतका नातेदार बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डीएनए परीक्षणका लागि नमुना दिनुपर्नेछ। नमुना दिन जाँदा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत आवश्यक पर्ने जनाइएको छ।

डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना दिनुपर्नेछ। यसका लागि नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

विदेशमा रहेका विदेशी नागरिक वा गैरआवासीय नेपालीको हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ’ गराउनुपर्नेछ।

त्यसरी तयार भएको डीएनए प्रोफाइलको डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। इमेलमा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, राहदानी वा आधिकारिक परिचयपत्रको विवरण, हराएको मिति तथा सम्भावित स्थान र मान्यताप्राप्त प्रयोगशालाको डीएनए रिपोर्ट समावेश गर्नुपर्ने प्रहरीले जनाएको छ।

त्यस्तै, डीएनए नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको पारिवारिक नाता स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

डीएनए परीक्षण तथा समन्वयका लागि प्रहरीले दुई जना सम्पर्क अधिकारी तोकेको छ। प्रहरी निरीक्षक शम्भुबहादुर केसीको मोबाइल नम्बर ९८४१६१६०९५ र प्रहरी नायव निरीक्षक (सई) विष्णु घिमिरेको मोबाइल नम्बर ९८५७०९१०१३ रहेको छ।

बाढीमा ठूलो संख्यामा नागरिक बेपत्ता हुनुका साथै कतिपय शव तथा मानव अंग क्षतविक्षत अवस्थामा फेला परिरहेकाले वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई हस्तान्तरण गर्न डीएनए परीक्षण आवश्यक रहेको प्रहरीले जनाएको छ।