हेटौँडा कपडा उद्योग चलाउन सरकारको लगानी

हेटौँडा कपडा उद्योग चलाउन सरकारको लगानी

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले आवश्यक लगानी गर्ने बताएकी छन्।

शनिबार बिहान हेटौँडा उपमहानगरपालिका–८ स्थित उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइन्। सरकारले कपडा उद्योगसहित बन्द अवस्थामा रहेका अन्य उद्योग पनि पुनः सञ्चालन गर्ने तयारी गरेको उनको भनाइ छ।

निरीक्षणका क्रममा मन्त्री यादवले नेपाली सेनाका अधिकारीसँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र सञ्चालनको सम्भावनाबारे जानकारी लिइन्। निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य र हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगिता क्वुरलगायत सहभागी थिए।

उद्योगमा रहेका ४८८ वटा तानमध्ये हाल १२ वटा मात्रै सञ्चालनमा रहेको जानकारी मन्त्री यादवलाई गराइएको थियो। उनले उद्योग सञ्चालनका चुनौती, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्भावनाबारे सरोकारवालासँग छलफलसमेत गरिन्।

साढे दुई दशकदेखि बन्द रहेको उद्योगमा तीन साताअघि परीक्षण उत्पादन सुरु गरिएको थियो। सरकारले नेपाली सेनालाई उद्योगको मर्मतसम्भार गरी उत्पादन सञ्चालन गर्ने जिम्मेवारी दिएपछि गत साउन २३ गते दुईवटा तान सञ्चालन गरेर प्रारम्भिक उत्पादन परीक्षण गरिएको थियो।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, प्रविधि आधुनिकीकरणको अभाव, लोडसेडिङ तथा बढ्दो आर्थिक दायित्वका कारण उद्योगको अवस्था कमजोर बन्दै गएको थियो।

उद्योगमा २०५६ सालदेखि उत्पादन बन्द भएको थियो भने २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। २०५९ सालमा तत्कालीन सरकारले उद्योग पूर्ण रूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो।